Association of Nepalis in the Americas (ANA)

Balance Diet

‘गैर आवाशीय नेपाली नागरिकताको कानून’ निर्माणका लागि प्रधानमन्त्री देउवालाई एएनएको अनुरोध

टेक्सास । अमेरिका तथा क्यानाडामा रहेका नेपालीहरुको संस्था एशोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)ले सन् २०१५ मा नै संबिधानमा उल्लेख गरिएको गैर आवाशीय नेपाली नागरिकताको कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरिदिन प्रधानमन्त्री शेरवहादुर देउवालाई अनुरोध गरेको छ ।

एएनएका अध्यक्ष विजयराज भट्टराईले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरुलाई पनि संविधानको मर्म अनुरुप गैरआवासीय नागरिकता दिने कानुन वनाइदिन अनुरोध गरिएको छ ।

संविधानले गैरआवासीय नागरिकता सम्वन्धी व्यवस्था गरेको यति लामो समय वित्दा समेत कानुन निर्माणका लागि यस अवधिभित्र गठन भएका सरकारहरुले तदारुकता नदेखाएकोमा दुख व्यक्त गर्दै अध्यक्ष भट्टराईले यो सरकारले भने गैरआवासीय नागरिकता सम्वन्धी कानुन निर्माणमा पहल लिइदिने विश्वास व्यक्त गर्नुभएको छ ।

अध्यक्ष भट्टराईले विज्ञप्तिमा सन् २००४- २००५ मा नै एएनएले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्दै नेपाली नागरिकताको निरन्तरताको माग राखेर नेपाल सरकारसंग छलफको शुरुवात गरेको स्मरण गराउंदै उक्त धारणालाई गैरआवासीय नेपाली संघ (एनआरएन) सहितका संसारभरका नेपाली संघसंस्थाहरुले अगाडि वढाइदिएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा पांचौ पटक प्रधानमन्त्री वन्नु भएका देउवाले हरेक चुनौतीहरुको सहज समाधान गर्ने अपेक्षा समेत प्रवासी नेपालीहरुले राखेको उल्लेख छ । एएनएले देशमा बढ्दै गएको जातीय राजनीति तथा दलितहरुमाथि वढ्दै गएको असुरक्षा जस्ता विषयमा पनि गम्भीरताका साथ कार्य गरिदिन प्रधानमन्त्री देउवालाई अपिल गरेको छ । असुरक्षा बढ्दै गएको बिभिन्न घट्नाले देखाएको उल्लेख गर्दै सो मा ध्यान दिन अनुरोध गरिएको छ।

अमेरिकावाट हेर्दा देखिने नेपालको समग्र अवस्थाको विश्लेषण समेत गर्दै एएनएले नेपाल सरकारले सहयोगको आवश्यकता ठानेमा डायस्परामा रहेका नेपालीहरुसंग संयोजन गरी सहयोगका लागि एएनए तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीवाट संसार गुज्रिरहेको अवस्थामा समेत प्रवासमा रहेका नेपालीहरुले नेपालको वजेटको झण्डै आधार रकम यो वर्ष नेपालमा रेमिटेन्सको रुपमा पठाएको सन्दर्भ समेत उठाउंदै एएनएले देशका लागि यति ठुलो योगदान दिइरहेका गैरआवासीय नेपालीहरुका लागि कानुन निर्माण नगरिदिएकोमा दुख व्यक्त गरेको छ ।